काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या केही दिनभित्रै समाधान हुने बताएका छन्। बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर मंगलबार बसेको गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको प्रस्ट पारे। अध्यक्ष प्रचण्डले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।
उनले भने, ‘हिजो हामीले बोल्यौँ नि त। हिजो पाँचदलीय गठबन्धनको जो समन्वय समिति छ, त्यसको बैठक बसेको थियो। र त्यो बैठकले अदालतमा देखापरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ–आफनो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौँ। हामी एक–दुई दिन आशा गर्छौं कि समस्या अदालतभित्रबाटै समाधान होस्।’
सो क्रममा प्रचण्डले आसन्न राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनमा सत्तारुढ दलहरू मिलेर जाने सहमति भएको समेत जानकारी दिए।



लोकपाटी न्यूज

