काठमाडौं। चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागि परेको धुर्मुस सुन्तली फाउण्डेशन पछिल्लो ४ महिनायता काम रोकेर बसेको छ। आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको हो।
फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले आज एउटा भिडियो जारी गर्दै आफूहरु ऋणमा रहेको र सहयोगको आवश्यकता रहेको जानकारी गराएका हुन्। उनले भनेका छन् ‘विषम परिस्थितिमा बनाउनु पर्छ बन्नु पर्छ भनेर अघि बढेका थियौं। तर बिडम्बना भन्नु पर्छ विगत ४ महिना यता निर्माण रोकिएको छ। कोभिडको महामारी र लकडाउन चाडवाडमा पनि बिचलिन नभई काम गर्यौं। तोकिएको समयमा रंगशाला बनाउनु पर्छ भनेर लागि परि रह्यौं।’
‘धेरैलाई जोड्ने कोसिस गर्यौं। सरकारलाई सुरुबाटै अभिभावकत्व लिन आग्रह गरिरह्यौं। संघीय सरकारदेखि स्थानीय सरकारसम्म पटकपटक पुग्यौं। सहकार्यका लागि भनेर हामी नपुगेका ठाउँ सायदै कम होला।’ उनले अगाडि भनेका छन्, ‘१७ करोडमाथि ऋणको भारी बोकेर हिँडेका छौं। उहाँहरुले कति कुर्ने। फोन आइरहन्छ। सोध्नु हुन्छ, कहिले ? जसको जवाफ मसँग छैन।’
उनले पछिल्लो समय आफूहरुले धेरै आलोचना खेपेपनि त्यसलाई सुझावका रुपमा लिएको बताएका छन्। यद्यपि, फाउण्डेशनले कार्यविधि बनाएर काम गरिरहेको उनले दाबी गरे। उनले भने ‘कार्यविधि अन्तर्गत चलेका छौं। लेखापरीक्षण पनि असारसम्मको सकेका छौं। केही दिनमा विवरण सार्वजनिक गरेका छौं। हरेक टिकाटिप्पणीको पनि जवाफ दिने छौं। हामीले बनाउन खोजेका हौं। कोरोनाको महामारी, राजनीतिक उथलपुथल हुनु लगायतले सिकार बन्यौं।’ उनले सरकारलाई परियोजना निर्माणका लागि अभिभावकत्व लिन पनि आग्रह गरेका छन्।



लोकपाटी न्यूज

