एमाले छाेडेर नेकपा समाजवादी राेज्नेकाे लहर चलेकाे छ : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकर्षण बढेको बताएका छन् । स्थायी कमिटी बैठक उद्घाटनका क्रममा अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताउँदै आफ्नाे पार्टीप्रतिकाे आकर्षण बढ्दै गएकाे बताएका हुन्।

उनले भने ‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्य गरी एमाले छोड्नेको लहर चलेको छ।’ डडेलधुराबाट एमाले अध्यक्षसहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए । नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको उनले जानकारी दिए ।

शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित एक ब्यांक्वेटमा बैठक चलिरहेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे बैठकमा छलफल भइरहेको छ। स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् । मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी हुन पुगेका छन्।