इमानदार कम्युनिष्टहरु ढिलोचाँडो पुरानै घर फर्किन्छन् : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीबाट टुक्रिएर गएकाहरू फेरि मिल्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इमान्दार कम्युनिष्टहरु ढिलाेचाँडाे पुरानाै घरमा फर्किने सम्भावना रहेकाे बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेकाे अध्यक्ष प्रचण्डले माओवादीबाट टुक्रिएर गएका नेताहरूसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, डा. बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने औँल्याए। आराम र रमाइलो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै उनले समाजवादतर्फ इमानदार हुने कम्युनिस्टहरू ढिलोचाँडो पुरानै घरमा फर्किएर आउने बताए।

उनले भने , ‘म यो मञ्चबाट ढिलोछिटो विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास व्यक्त गर्न चाहन्छु। अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ।त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरू, बाबुरामजीहरू, विप्लवजीहरू र अरू समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमानदार हुने सबै कम्युनिस्टहरू फेरि एकपटक एकताबद्ध हुनैपर्छ।’ सबै इमान्दार कम्युनिष्टहरुकाे एकताकाे बलबाट नै समाजवादकाे यात्रा सहज हुने उनकाे भनाइ छ।