काठमाडाैं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्। आज बुधवार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउन चुनाैति दिएका हुन्।
उनले प्रजातन्त्रको विरुद्धमा नलाग्न समेत पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिए। देउवाले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए।
उनले भने, ‘मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो, त्यस कारण एकाएक नागरिक तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन । उनीहरूले आएर चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्या आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढङ्गबाटै समाधान गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै नागरिक भएको स्मरण गराए । उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहित हुनुपर्ने बताए। प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई नागरिकप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए।


लोकपाटी न्यूज

