काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले सरकारकाे काममा समन्वय समितिले कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । सरकार जनता र संसदप्रति उत्तरदायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पौडेलले पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने बताएका हुन्।
पाैडेलले वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसैको समन्वय गर्नका लागि समिति बनाइएको बताए । यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने उनकाे भनाइ छ ।
उनका अनुसार समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको छ। ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दक्खल दिने रुपमा यसलाई हतियार कसैले बनाउने यो कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दक्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्था माथि आइपर्ने समस्याहरु जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो’, उनले भने, ‘पाँच दललाई सजग राख्ने हो । पाँच दललाई संगठित राख्ने हो । पाँच दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि यो पाँच दललाई संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने हाे ।’
उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफू रहे पनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहेकाे बताए ।



लोकपाटी न्यूज

