काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताएका छन् । गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो बताएका हुन् ।
उनले एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने बताए। उनले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह पनि गरे। उनले भने, ‘एमसीसीले देश खान्छ भन्ने भ्रम हो। एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। यदि त्यस्तो भए,नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि ! अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’
उनले सोमबारबाट पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु गरेका हुन् । अभियान अन्तरगत उनले गोरखाका सबै गाउँपालिका/नगरपालिकामा घरदैलो गर्नेछन् । मंसिर ३ गते सम्म अभियान संचालन हुनेछ । अभियानका क्रममा भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताएका छन् ।



लोकपाटी न्यूज

