काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले काँग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको भन्दै वर्तमान नेतृत्वबाट पार्टी नचल्ने बताएका हुन्।
सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा बाेल्दै उनले भने, ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन। पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’ काँग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको उनकाे दाबी छ । सिंहले आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको पनि बताए ।
उनले काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे । काँग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको बताए । उनले भने,‘काँग्रेस कमजोर भए कम्युनिस्टहरूले लोकतन्त्र नै फालिदिन्छन् ।’
नेपाली काँग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि काँग्रेसले निभाउने उनले बताए । विगतमा कम्युनिस्टहरूले नसकेपछि काँग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको पनि उनले स्मरण गराए।



लोकपाटी न्यूज

