काठमाडाैं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले राजदूत नियुक्ति गर्दा छुट्टै सूची बनाएर गर्न प्रस्ताव गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमा राजदूत फिर्ता गर्ने सवालमा समेत तीन भागमा छुट्याएर मात्रै राजदूतहरुको फिर्ता गर्नुपर्ने अडान राखेका थिए।
श्रेष्ठले अब नियुक्ति गर्दा पार्टीहरूको भागबण्डा भन्दा पनि साझा सूची बनाएर कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरुलाई अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
आइतबार नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘अब छिट्टै राजदूतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला । यद्यपि प्रमले ३ जनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरु नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ–कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔं ।’
अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अबस्था बन्न सक्नेतर्फ उनले सचेत गराएका छन् । श्रेष्ठले प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा आफू उपस्थित भई छलफल गर्ने अवसर प्राप्त गरेको भन्दै संघर्षको सफलता पछि गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने आफू एकाध बैठकहरूमा मात्र भाग लिएको बताएका छन् ।



लोकपाटी न्यूज

