काठमाडौं। तिहारलाइ त्यसैपनि झिलिमिलि बत्तिकाे पर्वका रुपमा मनाइन्छ। तर विडम्बना आज भन्दा केही वर्ष अघि तिहारमा विद्युत खपत हुने प्रकारका झिलिमिलि बत्ति नबाल्न विद्युत प्राधिकरणले आग्रह नै गर्थ्याे। तात्कालिन उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे सक्रीयतामा १८ घण्टे लाेडसेडिङकाे अन्त्य भयाे र अहिले उज्यालाे नेपाल भएकाे छ।
यस पटक पनि कुलमान घिसिङले तिहारमा बिजुली बत्तिकाे अभाव हुन नदिने केही दिन अघि बताएका थिए। साेहीअनुरुप यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।
प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी रहेकाे छ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।
यस वर्ष काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट रहेकाे थियो । चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकद्वय विश्वप्रकाश गौतम र कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए ।
यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको पनि थियो ।



लोकपाटी न्यूज

