काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन्।
बिहीबार नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन्।
उनले पार्टीमा जतिसुकै ठूलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताए। उनले भने ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भएपनि हामी कडा स्टेप चाल्छाैं। तपाईहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ।’
देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको उनले बताए। माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड ज्यूँदै रहुन्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाई छ।
उनले भने ‘अहिले पनि प्रतिक्रान्तिकारीहरु षड्यन्त्रमै छन्। प्रतिक्रियावादीहरु षड्यन्त्रमै छन्। देशी विदेशी प्रतिक्रियावादीहरु कुनै न कुनै रुपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरुले तारो बनाएकाे तपाईहरुलाई थाहा छ, उनीहरुको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व छ।’
उनले अबकाे केही समय पछि नेकपा माओवादी केन्द्र एक नम्बर ठूलाे पार्टी बन्ने कुरामा ढुक्क रहन आग्रह गर्दै गणतन्त्र र संघीयताकाे रक्षाका लागि सबै एकजुट हुन आवश्यक रहेकाे बताए। कार्यक्रममा उनले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाकाे शालिकमा माल्यार्पण समेत गरेका थिए।





लोकपाटी न्यूज

