काठमाडाैं। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छन् ।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्दै गठबन्धनको सरकार बनेकाेले जबसम्म प्रतिगमनकाे खतरा रहन्छ तबसम्म वर्तमान गठबन्धन कायम रहने बताएकी हुन्।
ललितपुरको ठेचोमा बिहीबार आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बाेल्दै उनले जनताको आकांक्षालाई सम्बोधन गर्न र प्राप्त उपलब्धीकाे रक्षा गर्न गठबन्धन बनेको बताइन्। साथै गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने पनि उनको दाबी थियो ।
विशेष गरी वि सं २०७२ को भूकम्पले क्षति पुर्याएका मठमन्दिरहरू जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएको र बाँकी सम्पदा चाँडै सम्पन्न हुने मन्त्री भुसालले बताइन् । कोभिडका कारण स्रोत र साधन अन्यत्र लैजानु परेको तथा काम सम्पन्न गर्न ढिलाइ भएको उनको भनाइ थियो।



लोकपाटी न्यूज

