काठमाडाैं। मंसिरको दोस्रो साता हुने नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा दोहोरिने निश्चित नै छ ।ओलीको आलोचना गर्नेमा उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्यका अलावा उपमहासचिव घनश्याम भुसाल मात्र छन् ।
ओलीविरोधी समूहका अन्य नेताहरु पनि उनको खुलेर आलोचना गर्न सक्दैनन् । ओलीले माधव नेपालको साथ छाडेकामध्ये योगेश भट्टराईबाहेक कसैलाई महत्वपूर्ण जिम्मेवारी दिएका छैनन् । महाधिवेशन आयोजनाका लागि मूल व्यवस्थापन समितिको संयोजकमा बादल छन् । उपसमितिहरुमा योगेश भट्टराईबाहेक पूर्व माधव नेपाल समूहका कोही पनि छैनन् । यसबाट ओलीले एमालेको १० औं महाधिवेशनबाट पूर्व माधव नेपाल समूहकालाई पाखा लगाउने संकेत गरिसकेका छन् ।
उपाध्यक्ष भीम रावललाई १० बुँदे कार्यान्वयनको कार्यदलमा काम गर्न नसकेको आरोप लगाइसकेका छन् । रावलसहितका नेताहरु ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई बनाउन राष्ट्रपति समक्ष दर्ता गरेको निवेदनका हस्ताक्षरकर्ता पनि हुन् । उनले त्यसकारण पनि उनीहरुलाई पेलिरहेका छन् ।
अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त जस्ता एमालेमा लामो संघर्ष गरेकाहरुलाई पाखा लगाउने गरी ओलीको तयारी देखिन्छ । माधव नेपालको साथ छाडेर एमालेमै रहेकामध्ये योगेश भट्टराईलाई जिम्मेवारी दिएको हिसाबले उनले केही साथ पाउने सम्भावना देखिन्छ ।
ओलीले चाहेको नतिजा महाधिवेशनमा आउने देखिएको छ । यसकारण पदाधिकारीमा ओलीको चाहना नभए माधव नेपालको साथ छाडेर एमालेमा रहेकाहरुले पनि जित्ने सम्भावना कम छ ।



लोकपाटी न्यूज

