काठमाडाैं। इथियोपियाको मन्त्रिपरिषद्ले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको छ। देशको उत्तरी क्षेत्रमा सक्रीय विद्रोही समूह टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ)ले राजधानीतर्फ अघि बढ्ने चेतावनी दिएपछि इथियोपियाको सरकारले देशव्यापी रूपमा संकटकाल घोषणा गरेको हो।
संकटकाल घोषणा गरेसँगै सरकारी अधिकारीहरूले नागरिकहरूलाई राजधानी अदिस अब्बासको रक्षाका लागि तयार रहन आग्रह गरेका छन्। इथियोपियाको सरकारी सञ्चारमाध्यम फना ब्रोडकास्टिङका अनुसार आतंकवादी समूह टिपिएलएफद्वारा हुन सक्ने सम्भावित नरसंहारबाट नागरिकलाई बचाउन संकटकाल घोषणा गरिएको हो।
पछिल्ला केही दिनमा टिग्रेयान लडाकुले टिग्रे क्षेत्रको सीमामा पर्ने अम्हारा क्षेत्रका रणनीतिक सहरहरू डेस्सी र कोम्बाचा कब्जा गरेको बताउँदै उनीहरू राजधानी अदिस अब्बासतर्फ अघि बढ्ने बताएपछि सरकारले यस्तो कदम चालेको हो।
इथियोपियाको उत्तरतर्फको अधिकांश क्षेत्रहरूमा अहिले सञ्चार सेवाहरु अवरुद्ध गरिनुका साथै पत्रकारहरूलाई ती क्षेत्रमा जान प्रतिबन्धित गरिएको छ। मंगलबार बिहानै राजधानीमा रहेका सरकारी अधिकारीहरूले राजधानीको रक्षा गर्नका लागि आफूहरूसँग भएको हतियार दुई दिनभित्र सरकारी कार्यालयमा दर्ता गर्न भनेका छन्।
सेनाका क्याम्पहरूमा टिपिएलएफले आक्रमण गरेको बताउँदै इथियोपियाका प्रधानमन्त्री अबि अहमदले गत वर्ष नोभेम्बरमा देशको टिग्रे क्षेत्रमा सेना पठाएका थिए। उनले सेनाले तीव्र गतिमा विजय हासिल गर्ने बताएको भए पनि टिग्रे समूहले एक वर्षमा ती क्षेत्रहरूमा कब्जा जमाएको छ।
संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको द्वन्द्वले निम्त्याएको मानवीय संकटले लाखौँ मानिस भोकमरीमा रहेका छन्। इथियाेपियामा द्वन्द्वका कारण हजारौँ मानिसको ज्यान गएको छ भने २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। – एजेन्सी



लोकपाटी न्यूज

