‘गठबन्धन भत्काउन प्रतिगामी षड्यन्त्र भइरहेकाे छ, आँखा र कान खुल्लै राखाैं’

prachanda
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउँदै अझै पनि आँखा र कान खुल्लै राख्नुपर्ने बताएका छन् । सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरू भइरहेको बताएका हुन् ।

वर्तमान गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भइरहेको र यसका लागि गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले दाबी गरे । वैदेशिक शक्तिहरू गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको पनि उनले दाबी गरे ।

उनले भने ‘षड्यन्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौँ भन्न सक्ने स्थिति अझै पनि छैन । यो गठबन्धन तोड्नको लागि अनेक षड्यन्त्र र हतकन्डाहरु अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रूपले । या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइनै राख्या छ । यहाँ भित्र अर्को त्यस्तो निरङ्कुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइनै राख्या छ । त्यस कारण कर्मचारी साथीहरू तपाई हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कति बेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’

फरक प्रसंगमा बाेल्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको पनि बताए । तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ कम हुने बताए ।

उनले विगतका सरकारले रोकेका सबै विधेयकहरू पारित गराउनेतर्फ वर्तमान सरकार लागि परेको पनि बताए । निजामती ऐन, प्रहरी ऐन लगायतका ऐनलाई छिटोभन्दा छिटो अगाडी बढाउने उनले जानकारी दिए ।