काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन् ।
प्रचण्डले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाए । उनले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाएका छन् ।
उनले भने, ‘ओलीले सधैँ भन्थे– मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन, अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरूसँग भेटेको भने भन्ने सूचना मैले पाएँ, मलाई जीन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।’ प्रचण्डले ओलीले ज्ञानेन्द्र निकट को–को राजावादीलाई भेटे भन्नेबारे भने प्रचण्डले खुलाएका छैनन् ।



लोकपाटी न्यूज

