माओवादीको पक्षमा देशव्यापी जनलहर आउँदैछ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन्। विभिन्न चाडपर्वका अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन्। हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो।’

उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभई जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए। प्रचण्डले भने, ‘कम्युनिष्टहरुले परसम्म जाने सपना देख्छन्। त्यसकारण सपना देख्नु जायज हो।’ उनले राम्रो सपना देखेर सपना पुरा गर्नको निम्ति संघर्ष गर्नु कम्युनिष्टहरुको चरित्र र विशेषता भएको बताए।

उनले भने, ‘हामीले धेरै सपना देख्यौं। जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पुरा भएका हुन्।’ आफूहरूले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने बताए।

उनले भने, ‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने र सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको एउटा नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने भन्ने सपना देखेको हो।’ उनले यस्तो सपना देख्नु नराम्रो नभएको बताउनुभयो । त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको ऊर्जाले प्रमाणित गरेको प्रचण्डको भनाई थियो।

एक अर्का प्रसंगमा उनले भने, ‘अहिले फेरि माओवादी र अझ मधेशमा माओवादी प्रवेश गर्नेहरूको हजारौं हजारको लहर देखिन थालेको छ।’ पार्टीमा उभार आउन अझै बाँकी रहेको उल्लेख गर्दै उनले त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्ने बताए। अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाई थियो। भूमिहीन स्ववासीलाई लालपुर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष प्रचण्डले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्