काठमाडौं, १३ कार्तिक। मार्क्सवादी दर्शनशास्त्र, अर्थशास्त्र, वैज्ञानिक समाजवाद, कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाल चिन्तन, विज्ञान–प्रविधि लगायतका विषयमा नियमित कक्षा सञ्चालन गर्दै आएको मार्क्सवादी ज्ञान केन्द्रले आइतबारदेखि विशेष प्रकारको अनलाइन कक्षा सुरू गर्ने भएको छ।
कार्तिक १४ गतेदेखि सुरू हुने मार्क्सवादी अनलाइन कक्षा ४५ दिनसम्म चल्नेछ। कक्षामा प्रत्येक दिन एउटा पुस्तकको अन्तर्वस्तुमा केन्द्रित रहेर अध्ययन/अध्यापन हुने ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलले बताए।
‘‘यो कक्षा धेरै महत्वपूर्ण कक्षा हुनेछ’’ कट्टेलले भने, ‘‘यसअघि विषयकेन्द्रित कक्षा धेरैपटक सञ्चालन भइसकेका छन्। तर, यसपटक मार्क्सवाद र समकालीन विश्वसँग सम्बन्धित पुस्तकको अन्तर्वस्तुमा केन्द्रित रहेर कक्षा सञ्चालन हुनेछ। यो कक्षा हामी सबैका लागि लाभदायी हुनेछ।’’
मार्क्सवादी ज्ञान केन्द्रका सदस्य र प्रशिक्षक रोष्टरका सदस्यहरूले पालैपालो कक्षाको सहजीकरण गर्ने कट्टेलले बताए। बिहान ६.१५ देखि ७.४५ सम्म डेढ घण्टा सञ्चालन हुने कक्षाका लागि ४५ वटा पुस्तकहरू छनोट गरिएका छन्। कक्षामा पुस्तकको अन्तर्वस्तु समेटिएको स्लाइड प्रस्तुत हुने र सहभागीहरूलाई कक्षाको नोट उपलब्ध गराइने प्रचार विभाग प्रमुख सागर अधिकारीले बताए।
कक्षाका लागि देवासुर संग्राम, राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त (१), भोल्गादेखि गंगासम्म – ह्वाइ नेसन्स फेल, राज्य र क्रान्ति, मार्क्सवादको मूलभूत सिद्धान्त, धर्म, समाज र संस्कृति, कम्युनिस्ट घोषणापत्र, नेपाली भाषा र दृष्टिकोण, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, दर्शनदिग्दर्शन, हिमाली दर्शन पुस्तक सूचिकृत गरिएको छ।
त्यस्तै मार्क्सवाद और जातीय मुक्तिका प्रश्न, बौद्ध दर्शन सरल अध्ययन, मानिस यसरी महावली भयो, मार्क्सवादी दर्शन, कम्युनिस्ट स्कुल, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, भौतिक विज्ञानमा क्रान्ति, विश्वप्रसिद्ध जनक्रान्तिहरू, शिक्षामा मार्क्सवादी चिन्तन, नेपालमा वर्णव्यवस्था र वर्गसंघर्ष, दर्शनबारे पाँच कृति, हाम्रो समाज एक अध्ययन, ड्युहरिङ मतखण्डन, भौतिकवाद र अनुभवसिद्ध आलोचना, मार्क्सवादी राजनीतिशास्त्र, संघर्षको इतिहास पनि पुस्तकहरू सूचिकृत छन्।
त्यसैगरि सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहास, राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त (२), शून्य सीमान्त लागत समाज, होमोडिअस, दर्शनको दरिद्रता, ह्वाट्स् क्यापिटल निड्स्, पूर्वीय दर्शनमा भौतिकवाद, भारतीय दर्शनको रूपरेखा, मार्क्सवादी राजनीतिक अर्थशास्त्र, धर्म र मार्क्सवाद, जातिहरूको उत्पत्ति, पोर इकोनोमिक्स – अ रेडिकल रिथिङ्किङ अफ दि वे टु फाइट ग्लोबल पोपर्टी, एक पाइला अगाडि, दुई पाइला पछाडि, के गर्ने ?, हेजेमोनी, एक्काइसौं शताब्दीको समाजवाद लगायतमा पुस्तकमा केन्द्रित रहेर कक्षा सञ्चालन हुनेछ।
प्रशिक्षक विभागले गरेको सिफारिसका आधारमा पुस्तकहरूको छनोट गरिएको प्रचार संयोजक अधिकारीले बताए। ‘‘मोफसलमा रहनुभएका साथीहरूसँग पुस्तकको अभाव रहेका कारण पनि कतिपय पुस्तकहरू छुटेका छन्, आगामी कक्षामा ती पुस्तकहरू समावेश गर्दै जानेछौं’’ उनले भने।
कक्षाका लागि आचारसंहितासमेत तयार पारिएको छ। आचारसंहितामा नियमित कक्षामा उपस्थित हुनुपर्ने, ज्ञान केन्द्रले लिने मूल्यांकन प्रणालीमा सहभागी हुनुपर्ने, आयोजकले तोकेको मर्यादाभित्र रहनुपर्ने लगायतका विषय समेटिएका छन्।
कक्षामा मार्क्सवादी ज्ञान केन्द्रका पदाधिकारी र सदस्यहरू, प्रशिक्षक रोष्टरका सदस्यहरू, विभिन्न विभागीय समितिका सदस्यहरू, प्रदेश समितिका पदाधिकारी र सदस्यहरू, जिल्ला शाखाका पदाधिकारीहरू, संस्थाका आजीवन सदस्यहरू सहभागी हुनेछन्। कक्षामा केही अतिथिहरू र केही सहभागीहरूलाई पर्यवेक्षकका रूपमा सहभागी गराइँदैछ।
विगत डेढ वर्षदेखि मार्क्सवादसँग सम्बन्धित विषयमा नियमित कक्षा सञ्चालन गर्दै आएको ज्ञान केन्द्रले बर्दिबास लगायतका जिल्लामा भौतिक रूपमा उपस्थित भएर कक्षा लिइसकेको छ। आगामी दिन देशका विभिन्न जिल्लामा भौतिक कक्षा सञ्चालन गर्ने केन्द्रको तयारी छ।



लोकपाटी न्यूज

