सत्तारुढ गठबन्धनमा विप्लव समूहलाई पनि ल्याउँछाैं : प्रचण्ड

prachanda-20
लोकपाटी न्यूज

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्तारुढ गठबन्धनमा नेकपा विप्लव समूहलाई पनि ल्याउने बताएका छन् । उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताए।

माडीमा कार्यकर्ता प्रशिक्षणका क्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ ।’ उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने बताएका छन्।

उनले फरक प्रसंगमा भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’ उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेर जाने आधार र प्रतिबद्धता बनिसकेको बताए । एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले खुलासा गरेका छन्।