भूमिहीन सुकुम्बासीका समस्या वर्तमान सरकारले हल गर्छ : प्रचण्ड

लोकपाटी न्यूज

चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भूमिहीन सुकुम्बासीको नागरिकता सम्वन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताएका छन् ।

चितवनको माडी नगरपालिका ९ स्थित बाँदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाँदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए । उनले भने ‘मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु। ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस् भनेर।’

सो अवसरमा उनले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका बाचाअनुसार काम अगाडि बढाइरहेको पनि बताए । उनले भने ‘हामीले निर्वाचनका क्रममा गरेका बाचालाई विर्सेका छैनौं सोही अनुसार काम धमाधम अगाडि बढिरहेको छ । रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्कीपुल र सडक कालोपत्रेको काम धमाधम भैरहेको छ। सुकुमबासी बस्ति हनुमान झुलामा बिजुलि बत्ति विस्तारका लागि काम भैरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’

एक प्रसंगमा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री ओलीले माडिमा बनाउनका लागि प्रपोगान्डाको लागि राम मन्दिरको घोषणा गरेको बताउँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताए । नागरिकता वितरण तथा सहजीकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकताबिहीन स्थानीयलाई घर आँगनमै नागरिकता वितरण गर्ने उद्धेश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

माडि नगरपालिका वडा न ९ को बाँदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयूक्त आयोजनामा नागरिकता बितरण कार्यक्रम भएको हाे। ७३ बर्षीय हरिमायाँ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्धाटन गरेका थिए ।

फूलमायाँ प्रजाले ७२ वर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातबाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी थिईन् । अर्की ७४ बर्षीय कृष्णमायाँ घलानले नागरिकता हातमा पाउँदा दङग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गरिन् । ७ सन्तानकी हजुरआमाका सातै सन्तानसँग नागरिकता छैन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउँदैछन् ।

यसैबीच बाँदरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ । यस वडामा अधिकांशको नागरिकता छैन भने यहाँका वासिन्दाहरूसँग जग्गा धनि प्रमाण पूर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सीमावर्ती यस बस्तिमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र बस्ति विकासको काम हुन सकेको छैन ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणी पौडेल लगायतकाले बाँदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए। सो अवसरमा ७३ बर्षीय हरिमायाँ प्रजा ,७२ बर्षीय फूलमायाँ प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्