काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने निर्वाचनमा चितवनबाटै चुनाव लड्ने बताएका छन्। भरतपुरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै प्रचण्डले आगामी चुनावमा चुनाव लड्दा आफू चितवनबाटै लड्ने बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले चुनाव लड्ने सम्बन्धमा चितवनका जनतालाई कुनै दुविधामा नरहनसमेत आग्रह गरे। उनले भने, ‘चितवनको जनतालाई कुनै दुविधा र भ्रम नहोस्। म चुनाव लड्ने यो अन्तिम पटक हुन पनि सक्छ। चितवन छोडिँदैन।’
फरक प्रसङ्गमा बाेल्दै उनले न्यायलयकाे स्वतन्त्रता र गरीमामा आँच आउन नदिन सबै सतर्क हुनुपर्ने पनि बताए। उनले भने, ‘न्यायलयको स्वतन्त्रता र गरीमालाई कहीँ कतैबाट पनि आँच नआवस् भन्ने कुरामा हामी सतर्क हुनैपर्छ। अहिले एउटा बहस चलिरहेको छ। मलाई लाग्छ एक दुई दिनभित्र यो उचित निष्कर्षमा पुग्छ भन्ने नै लाग्छ।’
उनले अगाडि भने, ‘तर पनि हामी सबै के कुरामा सतर्क हुनुपर्छ भने राज्यका प्रमुख अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैले आ-आफ्नो स्वतन्त्रता र गरीमालाई कायम राख्न बल गर्नुपर्छ।’ कसैले पनि राज्यका प्रमूख अंग त्यसमा पनि न्यायापालिका जस्ताे संवेदनशील अंगकाे स्वतन्त्रता र गरीमामा आँच आउने प्रकारका कुनै पनि गतिविधि गर्न नहुने उनकाे भनाइ छ।



लोकपाटी न्यूज

