काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आलाेचना गर्दा तथ्यकाे ख्याल गर्न सुझाव दिएका छन् । ओलीले आलाेचना चाहिँ गर्न जानेकाे तर आलाेचना गर्दा तथ्यकाे हेक्का नराखेकाे भन्दै प्रवक्ता शर्माले यस्ताे सुझाव दिएका हुन्।
शनिबार वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले पटक-पटक मिति थप गर्दा पनि कांग्रेसले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका थिए । ओलीको आलोचनाको जवाफमा आइतबार कांग्रेस प्रवक्ता शर्माले भने, ‘कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने कमरेड केपी शर्मा ओलीको आलोचना स्वीकार्य छ, तर आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद हुन जान्छ !’
उनले कांग्रेसको महाधिवेशन हुनुभन्दा २० महिनाअघि एमाले महाधिवेशन भएको तथ्य नबिर्सन ओलीलाई आग्रह गरे । कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो भने एमालेको ९ औं महाधिवेशन ०७१ असारमा भएको थियो ।
सात वर्षपछि बल्ल एमालेले अधिवेशन गरिरहेका बेला कांग्रेसको आलोचना गर्नु शोभनीय नभएको शर्माको टिप्पणी छ । दल र राजनीतिमा परिवर्तनको खाँचो औंल्याउँदै शर्माले भने, ‘अधिवेशन आन्तरिक जीवनको विशेष अध्याय अनि दलहरूको रुपान्तरण आजको समयको एक महत्वपूर्ण कार्यभार हो । परिवर्तन दल र राजनीति समग्रतामा जरुरी छ । दल व्यवस्थापनको नवीन सुत्र र शैली आलोचनाले होइन आत्मालोचनाले खोजौं । खराबीमा होइन रुपान्तरणमा प्रतिस्पर्धा गरौं ।’ रुपान्तरणकाे दिशामा भन्दा पनि दाेषाराेपण दिशामा दलहरु गैरहेकाे उनले तर्क गरे।




लोकपाटी न्यूज

