पीडितलाई प्रधानमन्त्रीकाे ढाडस : ढुक्क हुनुहोस्,समयमै राहत दिन्छौं

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेरे निरीक्षण गरेका छन् । बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत उपलब्ध गराउने बताएका छन् ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले समयमै राहत उपलब्ध गराउने दावी गरे। उनले भने, ‘मौसमविद्ले जलवायु परिवर्तनका कारण ठूलो महाविपत्तिले क्षति पुगेको भनिरहेका छन् । सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पुर्‍याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउँछौं ।’

प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढी पहिरोले कर्णाली प्रदेशमा पुर्‍याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई समेत निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । उनले बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्