एमालेको माग : बाढी प्रभावित किसानलाई राहत प्याकेज घोषणा गरियाेस्

लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्षाका कारण प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । मूलुकभर दुई दिनदेखि जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । ‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा नेकपा एमाले असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ,’ एमालेले विज्ञप्तिमार्फत् सरकारलाई भनेको छ, ‘अवरुद्ध यातायात लगायत सेवा तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्ति र संकटमा परेका पर्यटकहरुको तत्काल उद्वार गर्न ध्यानाकर्षण गर्दछ ।’

त्यस्तै, एमालेले मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसान लगायतको अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।

दुई दिनयताको वर्षाका कारण किसानले भित्त्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । त्यस्तै, पश्चिम नेपालमा बाढीका कारण केही व्यक्तिको मृत्यु हुनुका साथै बाढीबाट ठूलो संख्यामा मानिस प्रभावित भएका छन् ।