काठमाडौं। आज विजयादशमी। मान्यजन, आफन्तबाट टीका थाप्ने दिन। यो दिन निधारमा रातो (कतिले सेतो) टीका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ। आशिष अर्थात् आर्शिवाद। आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा।
हुन त अहिले धेरैले टीका लगाइदिए पनि आशिष (श्लोक वाचन) गर्दैनन्। कतिले यसलाई कण्ठ गरेका हुँदैनन्, कतिले यसको भाव बुझेका हुँदैनन्, कतिले यसको आवश्यकता महसुस गर्दैनन्। दशैंमा टीका लगाइदिँदै दिने आशिष संस्कृत भाषामा छ। महिला र पुरुषलाई दिइने आशिषमा पनि एकरूपता छैन। आखिर आशिषले के भन्छ ? किन दिइएको ?
यो एउटा संस्कार हो। संस्कार भनेको जीवन पद्धतिलाई दोहोर्याउने सर्वोत्तम माध्यम हो। दशैंमा टीका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरू पनि लुकेका छन्।
दशैंमा अक्सर आफूभन्दा ठूला मान्यजनबाट टीका लगाइन्छ। यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ। मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो। साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ। सही संस्कार दिनुपर्छ भन्ने हो। दशैंको आशिष यसमै आधारित छ।
टीका लगाउँदा दिने आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिँदैन। तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त बाटो देखाइदिन्छ। विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा राखिएको छ, यसमा।
यस्तो छ अर्थः
द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात् दीर्घायु हुनु। दशरथ राजाको जस्तो धनसम्पति होस्। भगवान रामको जस्तो शत्रु नाश होस्। नहुष राजाको जस्तो ऐश्वर्य होस्। पवनसुत हनुमानको जस्तो गतिशीलता होस्। दुर्योधनको जस्तो मान होस्। सूर्य पुत्र कर्णको जस्तो दानवीरता होस्। हलधर बलरामको जस्तो बल होस्। कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादिता हुनु। विदुरको जस्तो ज्ञान होस्। भगवान नारायणको जस्तो कीर्ति वा प्रसिद्धि होस्।
यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टीकाको पनि निकै अर्थपूर्ण छ। टीका जसलाई अक्षता पनि भनिन्छ, दही, चिनी, रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्य भागमा लगाइन्छ। यसरी टिका लगाइदिने निधारको मध्यभागलाई आज्ञा चक्र भनिन्छ। यो दुवै आँखीभौंको माझमा हुन्छ। यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा भनिन्छ। आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो। यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ।
यसको अर्थ के बुझ्न सकिन्छ भने ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेका हुन्।
दशैंको टीका : दशैंमा मान्यजनबाट आशीर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ। रातो र सेतो अक्षताको टीका लगाउने चलन छ। टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ। साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन्। यसले मस्तिष्क, मन र विचारलाई शुद्ध तुल्याउँछ।
दशैंको जमरा : दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ। जमरा घटस्थापनाको दिन राखिन्छ। यसको आफ्नै विधि छ। अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ। धर्मशास्त्रहरूले यसलाई समृद्धिको प्रतीक मानिएका छन्। खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो। यसमा कार्बोहाइड्रेट, प्रोटिन र भिटामिनहरू पाइन्छ। जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ।



लोकपाटी न्यूज

