काठमाडौं। आज बडादशैंको नवौं दिन अर्थात् नवरात्रिको अन्तिम दिन । महानवमी पर्व देशभरिका हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै छन्। आश्विन शुक्ल नवमीका दिन पर्ने महानवमी पर्वमा दुर्गा भवानीको पूजा आराधना गरी बलि दिने परम्परा रहेको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैंघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिनेहरुले भने आजको दिन आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई चढाउने गर्दछन् ।
अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने प्रचलन रहेको हुन्छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको वा वध गरेकोले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गर्ने गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।
प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन रहेको छ।



लोकपाटी न्यूज

