भद्र र शालिन नेता देवेन्द्र पाैडेल : धनगढी जेलदेखि शिक्षा मन्त्रीसम्म (जीवनी)

Debendra_Paudel
लोकपाटी न्यूज

काठमाडाैं। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल भद्र र शालिन नेताका रुपमा परिचित छन्। उनका नाममा एउटा ट्याग थियो- मन्त्री नबनेका माओवादीका एकमात्र स्थायी कमिटी सदस्य भन्ने । तर शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‍मा समेटिएसँगै उनीमाथिको यो ट्याग मेटिएको छ।

शिक्षा मन्त्रालयको नेतृत्व पाएका पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए। उनकाे जन्म वि सं २०२१ सालमा बागलुङको अमलाचौरमा भएकाे थियाे।

पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ। अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेका उनी उक्त संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए।

उनी २०७१ मा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०६२ मा पोलिटव्यूरो सदस्य भएका थिए । त्यस्तै २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बनेका थिए।

माओवादी जनयुद्धमा सुरूआती चरणदेखि सहभागी भएका उनी २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए । त्यस्तै उनी ६ महिना सदरखोरमा थुनामा परेका थिए ।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेका थिए। भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरि नयाँ शक्ति बनाउँदा उनीसँगै गएका पाैडेल माओवादीमै फर्किएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएर काम गरिरहेका छन् ।

देवेन्द्र पौडेल उनको वास्तविक नाम रहेता पनि उनको सांकेतिक नाम भने सुनिल रहेको छ। सानै उमेरदेखि राजनीतिक रुपमा सक्रीय पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्।

उनी २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रीय भएको पाइन्छ। राजनीतिक जीवनमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य पोलिटव्युरो सदस्य हुँदै हाल उनी पार्टीको स्थायी समिति सदस्य रहेका छन्। नेकपा हुँदा पौडेल स्कुल विभागका उपप्रमुख रहेका थिए।

उनले आफ्नो राजनीति जीवन र यात्रामा थुप्रै वैचारिक र सैद्धान्तिक लेख तथा कृतिहरुको रचना समेत गरेका छन्। उनले ‘नेपालमा वर्गसंघर्ष र वर्गहरुको विश्लेषण’, ‘राजतन्त्र र प्रजातन्त्रबारे’, ‘नेपालमा किसान समस्या’, ‘राजाको संविधान सुझाव आयोग वा जनताको संविधानसभाको निर्वाचन’, ‘बौद्धिक समूदायको सिंहावलोकन’ लगायतका थुप्रै पुस्तक तथा बुकलेटहरु प्रकाशनमा ल्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्