कांग्रेसकाे बालुवाटार बैठक : पौडेलले मागे देउवासँग ३ मन्त्रालय

Sher-Bahadur-Deuba-and-Ramchandra-Paudel
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेस पार्टीभित्र आन्तरिक समीकरण मिलाएर मन्त्रीहरुको नामावली टुंगो लगाउन जुटेको छ । त्यसका लागि बुधबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलालाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

छलफलका क्रममा पार्टीले पाएका मन्त्रालयमध्ये २ वटा मन्त्रालय पौडेल पक्ष र एउटा सिटौला पक्षलाई दिने जानकारी गराएका थिए । तर छलफलका क्रममा पौडेलले आफ्नो पक्षले ३ वटा मन्त्रालय पाउनुपर्ने दावी पेश गरेका थिए । तर, देउवाले कुनै पनि हालतमा तीन मन्त्रालय दिन नसकिने बताएपछि पौडेल अन्तिम समयमा दुई मन्त्रालयमै राजी भएका छन् ।

काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले पौडेल पक्षलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको बताए । पौडेलले ३ वटा मन्त्रालय मागेपनि अन्तिममा २ मन्त्रालयमै राजी भएर छिटोभन्दा छिनो आफ्नो पक्षबाट नामावली पठाउने समझदारी भएको उनको भनाइ छ । यस्तै सिटौलालाई एक मन्त्रालय दिनेबारे पनि देउवाले जानकारी गराएका थिए । सो क्रममा सिटौलाले आफू निकटबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तय भइसकेको जानकारी गराएका थिए ।

यसअघि नै आफू निकटका बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीलाई मन्त्री बनाएका देउवाले थप एक जनालाई पनि मन्त्री बनाउने तयारी गरेका छन् । काँग्रेस स्रोतका अनुसार उनले सचेतक पुष्पा भुसाललाई मन्त्री बनाउने गरी तयारी गरिरहेका छन् । यद्यपि अन्तिम टुंगो भने लागिसकेका छैन । यस्तै देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई पनि नियुक्त गरेका थिए । बैठकमा देउवाले सम्भवतः भोलि नै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताएका थिए ।