इलाम। इलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ।
सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।
लागूऔषधसहित एक पक्राउ
झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट असोज १८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकिछिपी नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको बिर्तामोड नगरपालिका १० बस्ने ४४ वर्षिय मिलन गुरुङलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ग्वालाबस्तिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १ सय वटा र ४२ बोतल कोरेक्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुरङलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।



लोकपाटी न्यूज

