काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वऊर्जामन्त्रीवर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ। पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीरमा रहेको जण्डिसको अत्यधिक मात्रा घट्दो क्रममा छ।
सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए। ‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ,’ उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन्।
घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्। उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन्। ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ,’ घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ।’ यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन्। खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ।
जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो। तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको पुनको सचिवालयले जनाएको छ। चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो। पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन्।



लोकपाटी न्यूज

