राजेन्द्र बिक/ १२ असोज बाजुरा। बाजुरा कांग्रेसको पालिकास्तरीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। जिल्लामा पौडेल- सिटौला पक्ष बलियो देखिएको छ । जिल्लाका ६९ वडा र नौ वटा पालिका अधिवेशनमा पौडेल सिटौला पक्ष बलियो देखिएको हो ।
संस्थापन देउवा पक्षको बलियो पकड मानिएको बाजुरा जिल्लामा यो पटक ठिक उल्टो परिणाम देखिएको छ । ६९ वटा वडा मध्ये पौडेल सिटौला पक्ष ५५ प्रतिशत बढी वडा सभापति आफू निकट बनाउन सफल देखिएको छ भने देउवा पक्षले ४५ प्रतिशतको हाराहारीमा वडा सभापति बनाउन सफल भएको छ ।
सहमतिका आधारमा वडा सभापति चुनिए पनि आन्तरिक आस्थालाई हेर्दा पौडेल सिटौला पक्ष बलियो देखिएको नेताहरुको दाबी छ। जिल्लाका नौ वटा स्थानीय तहमध्ये पनि ६ वटामा पौडेल सिटौला पक्षकै सभापति बनेका छन् । पार्टी सभापति कविराज पण्डितकै गृह नगरमा पौडेल सिटौला पक्षका गोपाल कार्की सभापति बनेका छन् ।
लामो छलफल र सहमतिको प्रयास पछि कार्की सभापतिमा सर्वसम्मत भएका हुन् । देउवा पक्षबाट जनक थापाले उम्मेदवारी दिएका थिए । यस्तै पार्टी सभापतिका उम्मेदवार रामसिंह रावलको गृह नगर त्रिवेणी नगरपालिकामा चुनावबाटै पौडेल सिटौला पक्षका सुरेन्द्रराज गिरी सभापति निर्बाचित बनेका छन् । गौमुल गाउँपालिकामा राजबहादुर धार्मी, स्वामिकार्तिक खापर गाउँपालिकामा महेश कटेल, जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट पनि पौडेल सिटौला पक्षका छन् भने बुढीनन्दा नगरपालिकाका डबल बहादुर खड्का, बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय खप्तड छेडेदह गाउँपालिकामा सभापति बनेका हर्क रावत देउवा पक्षका छन्।
जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, त्रिवेणी, बडिमालिका र गौमुलमा पौडेल सिटौला पक्षको नेतृत्व आएको छ भने बुढीगंगा, बुढीनन्दा र खप्तड छेडेदहमा देउवा पक्षले नेतृत्व पाएको छ । तर देउवा पक्षले भने आफूहरु पाँच वटा स्थानीय तहमा नेतृत्व ल्याउन सफल भएको दाबी गरेको छ ।
९ वटा पालिका मध्ये ८ वटामा निर्विरोध नेतृत्व चयन भएको थियो भने एक पालिकामा निर्वाचन भएको थियो । काँग्रेस जिल्ला अधिवेशनका लागि ११ सय ६९ जना प्रतिनिधी छनोट भएका छन् । बाजुरामा पौडेल सिटौला पक्षबाट रामसिंह रावलको एकल उम्मेदवारी छ भने देउवा संस्थापन पक्षबाट पार्टी सभापति कविराज पण्डित, महा नेपाली, धनराज पण्डित, चक्र बहादुर शाही, पदम शाहीसहितले आकांक्षा राखेका छन् ।



लोकपाटी न्यूज

