असाेज ९ काठमाडाै । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले सभापतिमा उम्मेद्वारी दिन लागेकाे बताए।
नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए ।
उनले १४ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजा परिषदको जस्तै हुने बताए। नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाे बताउँदै अब सभापति भएर काम गर्न चाहेको बताए ।
उनले भने, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन । मैले भने सबै नेताहरुलाई हामी सम्मान गछौं । उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि त्याग, तपस्या गर्नुभएको छ त्यसप्रति सम्मान छ । तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिङ अवस्था छ, हामीले यो लथालिङ अवस्थामा १४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने पार्टी प्रजा परिषदको बाटोमा जान धेरै दिन लाग्दैन।’ नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क गरे ।



लोकपाटी न्यूज

