एनआरएनए चुनाव : कोषाध्यक्षमा लोकप्रसाद दाहालको उम्मेदवारी

lok_dahal
लोकपाटी न्यूज

ब्रसेल्स। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा लोकप्रसाद दाहाल निर्विरोध हुने सम्भावना बढेको छ। वर्तमान आईसीसीमा सह–कोषाध्यक्ष रहेका दाहालले आगामी अक्टोवरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका हुन्।

उक्त पदमा हालसम्म दाहाल बाहेक कसैले पनि उम्मेद्वारी घोषणा गरेका छैनन्। विगत लामो समयदेखि बेल्जियममा होटल तथा रेष्टुरा ब्यवसाय गरेर बसेका दाहालले यस अघि फराकिलो मतान्तरले सह–कोषाध्यक्षमा विजयी बनेका दाहालले १,१८४ मत ल्याए भने उनको प्रतिद्वन्दी गौतमले ८५२ मत मा सिमित भएका थिए । सह–कोषाध्यक्ष निर्वाचित भए सँगै उनले संस्थामा आर्थिक पारदर्शिताको शुरुआत गरेका थिए ।

उनी एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष तथा पूर्वमहासचिव समेत हुन्। बेल्जियममा रेष्टुरेन्ट व्यबसाय गर्दै आएका दाहालले नेपालमा हाईड्रो पावर, अस्पताल, युरोपियन वाईन वियर, सेयर मार्केटमा लगानी गरेका छन् भने साथमा परोपकारी कामहरु पनि गर्दै आएका छन्।

शालीन व्यक्तित्वका धनि दाहाल भद्र व्यक्तित्व भएका सामाजिक अभियन्ताको रूपमा परिचित छन्। संसारभरका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरूको संस्था ‘भ्लाम्स मेडिकल’मा कार्यकारी सदस्य रहेका दाहालसँग नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ।

एनआरएन अभियन्ता दाहाल भन्छन्, ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा छ। संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु।’

नेपाल पत्रकार महासंघ यूरोपको अन्तरक्रियामा दाहालले भने, ‘सह–कोषाध्यक्ष भइ काम गर्दा संघको आर्थिक पाटोलाई धेरै हदसम्म व्यवस्थित गर्न सफल भएका छौं। हामीले संघको आर्थिक हिसाव–किताव व्यवस्थित गर्न एउटा ‘सिस्टम’ बनाइसकेका छौं। अब काम गर्न गाह्रो पर्दैन।’

उनले थप भने, ‘यसअघि संघको आर्थिक हिसाब गोलमाल थियो। विभिन्न परियोजनाको व्यवस्थित लेखाजोखा नहुँदा संघलाई २७ करोड घाटा लागेको थियो। जुन घाटा अहिले झण्डै ११ करोडमा झरेको छ। आउँदो अधिवेशनसम्म संघको पुरानो ऋण चुक्ता भएर बचतमा जानेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्