जनकपुर। प्रदेश-२ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।
प्रदेश सांसद विश्वकर्मा र गुरुङ दुवैजना बाराका हुन्। एमाले छोडेर नेकपा(एस)मा लागेका प्रदेश सांसदको संख्या अब १३ पुगेको छ। प्रदेश २ मा एमालेका २१ जना सांसद थिए। गत बिहीबार एमालेका ११ जना सांसदहरुले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। त्यतिवेला विश्वकर्मा र गुरुङले पनि सनाखत गर्ने बताइए पनि अन्तिम समयमा उनीहरू फेरि एमालेका कार्यक्रममा सहभागी भएका थिए।
एमालेमै रहने कि नेकपा(एस) रोज्ने दोधारमा रहेका विश्वकर्मा र गुरुङलाई भने फकाउन नेकपा(एस)का शीर्ष तह नै कसरतमा लागेको थियो। भारतको नयाँ दिल्लीमा उपचाररत रहेका एमालेका सांसद डिल्ली उप्रेतीले भने नेकपा(एस) रोजेको कागजी प्रक्रिया दूतावासमार्फत सनाखत गराउन दिल्ली पुगेको छ। प्रदेश सांसद उप्रेतीको सनाखत आएपछि उनले दल रोजेको मान्य हुने निर्वाचन कार्यालयले जनाएको छ।
एमालेबाट निर्वाचित २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्। शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन्।



लोकपाटी न्यूज

