काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्। मुख्यमन्त्री केसीको सफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रिपरिषद हेरफर र कार्यविभाजन गरेका हुन्। डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेदवारी दिइएको छ। यसअघि उनलाई ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ। खड्का सरकारका प्रवक्तासमेत हुन्। यस्तै, विना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। शाही स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
जसपाका दुई मन्त्री पुरमति ढेंगा र सुमनशर्मा रायमाझी अझै विना विभागीय नै छन्। मन्त्रीहरूको जिम्मेवारी हेरफेर हुँदा पनि दुवैजनालाई मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्री केसी आफैंले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नारिक, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था, वन वातावरण तथा भू-संरक्षण, शिक्षा, विज्ञान, युवा तथा खेलकुद, श्रम, रोजगार तथा यातायात र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय सम्हालेका छन्।




लोकपाटी न्यूज
