एनआरएनए कोषाध्यक्षमा दाहालको दाबी

lok_dahal
लोकपाटी न्यूज

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा लोकप्रसाद दाहालले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा सह-कोषाध्यक्ष रहेका दाहालले आउँदो अक्टुबरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

बेल्जियममा व्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम शाखाको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन्। शालीन तथा भद्र व्यवहारका उनी सामाजिक अभियन्ता हुन्।

विश्वका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याति कमाएको बेल्जियमका डाक्टरहरू सहभागी संस्था ‘भ्लाम्स मेडिकल’ मा कार्यकारी सदस्य नियुक्त दाहालको नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ।

उनी भन्छन्, ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने इच्छा छ। संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु।’ उनले सह-कोषाध्यक्ष भई काम गर्दा संघको आर्थिक पाटोलाई धेरै हदसम्म व्यवस्थित गर्न सफल भएको बताए।

‘हामीले संघको आर्थिक हिसाब-किताब व्यवस्थित गर्न एउटा ‘सिस्टम’ बनाइसकेका छौं। परिपाटी बसिसकेकोले अव काम गर्न गाह्रो पर्दैन,’ उनले भने। यसअघि संघको आर्थिक हिसाब गोलमाल थियो। विभिन्न परियोजनाको व्यवस्थित लेखाजोखा नहुँदा संघलाई २७ करोड घाटा लागेको थियो, जुन घाटा अहिले झण्डै ११ करोडमा झरेको छ। आउँदो अधिवेशनसम्म संघको पुरानो ऋण चुक्ता भएर बचतमा जाने उनको भनाइ छ।

वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा संघको आर्थिक पाटो व्यवस्थित गर्न सह-कोषाध्यक्षको नाताले दाहालले पनि उल्लेख्य योगदान गरेका थिए। संघले अव आपत्कालीन क्षेत्रबाहेक अन्य परियोजनामा पहिले नै बजेटको लागत तयार पारेर काम गर्ने परिपाटी बनाएको छ। संस्था अव घाटामा नजाने उनको दाबी छ।

संघभित्र आफ्नो जिम्मेवारी कुशलतापूर्वक समाधान गर्न अहम् भूमिका निर्वाह गरेका दाहाल एनआरएनएमा विवादरहित अभियानताका रूपमा चिनिन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्