काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो।
भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाँचौ बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो।
प्रदेशसभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशनसमेत रहेकाले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्घ गर्ने अडान छाडेको छैन। नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालिन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ।
प्रदेशसभा सचिवालयले भने सचिवालयको रेकर्डमा वली नेकपा माओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समूह उल्लेख भएकाले एमालेको पत्रको आधारमा उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी एमालेलाई गराएको छ।



लोकपाटी न्यूज
