काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन्।
उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने तयारीमा हुनुहुन्छ।’ नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए। एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन्।
राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल पक्षले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) गठन गरेको थियो। निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्ने समय सीमा दिएको छ। आयोगले दल रोज्न भनेपछि हाल बागमती प्रदेशमा रहेका एमालेका ५६ सांसद थिए भने तीमध्ये १२ जना नेकपा एकीकृत समाजवादीलाई रोजेका हुन्।



लोकपाटी न्यूज

