काठमाडौं। प्रदेश १ स्थित प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्रीका लागि शपथको तयारी थालेको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिँदैछन्।
मुख्यमन्त्री राईले राजीनामा दिने र नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रदेश प्रमुखबाट नियुक्त गराउने एमालेको तयारी छ। सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी थालेको स्रोतको भनाइ छ।
बागमती प्रदेशमा जस्तै मुख्यमन्त्रीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्त्त गरेर आफ्नो बहुमत कायम राख्नका लागि प्रदेश १ मा एमालेले तयारी थालेको हो। तयारी अनुसार अहिले प्रदेश १ एमाले संसदीय दलको बैठक बसेको छ।
बैठकले भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्नेछ। त्यसपछि मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनेछन् र आचार्य नयाँ मुख्यमन्त्री नियुक्त्त हुनेछन्।
नयाँ मुख्यमन्त्री नियुक्तिको सिफारिस आउने जानकारी पाएसँगै प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो। स्रोतका अनुसार कार्यालयले दिउँसो १ बजे आचार्यलाई मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको हो। केही समय ढिलो भए पनि आजै आचार्यलाई शपथ गराइने प्रदेश प्रमुखनिकट स्रोतले बतायो।



लोकपाटी न्यूज

