लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयले जारी गरेको सोमबारको कार्यसूचीमा आज मुख्यमन्त्रीले विश्वासको मतको मत लिने उल्लेख गरिएको छ।
माओवादीका केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि एमालेले भने लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ।
सोमबार पनि बसेको पहिलो बैठकमा एमाले सांसदहरुले नारावाजी गरेका थिए। एमालेले माओवादी केन्द्रमा लागेकी सांसद विमला वली र मन्त्री बनेका सांसद अजय शाहीलाई पदमुक्त गरेको निर्णय प्रदेश सभामा दिएको थियो । तर सभामुखले उनीहरुलाई पदमुक्त गर्न नसकिने बताए पनि एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ।
विपक्षी एमालेले संसद् अवरुद्ध पारेपछि साढे २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।
संसद् सचिवालयले साढे २ बजे जारी गरेको कार्यसूचीअनुसार मुख्यमन्त्री केसीले वक्तव्यसहित प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन्। सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेको प्रश्नको जवाफपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
यसैबीच दोस्रो बैठक सुरु भएर पनि सकिएको छ। अब अर्को बैठक आजै साढे ३ बजेसम्मको लागि स्थगित भएको छ। आधा घण्टाको लागि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका छन्।



लोकपाटी न्यूज
