घनश्याम भुसाल ओली समूहमा नलाग्ने

Ghanashyam Bhusal
लोकपाटी न्यूज

काठमाडौं। बुधबार दिउँसो नेकपा (एमाले) औपचारिक रूपमै विभाजित भएपछि पार्टीका अधिकांश नेता–कार्यकर्ता कता लाग्ने भन्ने अन्यौलमा देखिएका छन्। नेता–कार्यकर्तालाई एकातर्फ ओलीको विचार र कार्यशैली मन परिरहेको छैन, अर्कोतर्फ नयाँ पार्टीतिर लाग्दा विगतको माले हुने भय पनि त्यत्तिकै देखिन्छ।

एमालेका बौद्धिक नेता एवं उपमहासचिव घनश्याम भुसालले पनि तत्काल कुनै कित्तामा नलाग्ने संकेत गरेका छन्। उनले केही समय तटस्थ बसेर एकताका लागि फेरि पहल गर्ने भएका छन्।

माधवकुमार नेपाल समूहले नयाँ दर्ता गर्ने तयारी गरिरहँदा नेपाल निकट मानिएका नेता भुसालले आफू तटस्थ बस्ने बताएका हुन्। एमाले एकताका लागि गठित कार्यदलमा नेपाल पक्षका सदस्य रहेका भुसालले एकताका लागि तयार पारिएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन्। तर, अध्यक्ष केपी शर्मा ओली १० बुंदे सहमति कार्यान्वयन गर्न तयार देखिएका छैनन्।

बुधबार पार्टी एकताको अन्तिम प्रयासका लागि बालकोट पुगेका भुसाललाई ओलीले ओठे जवाफ दिएका थिए। ओलीले ‘माधव नेपालमाथि गरिएको कार्वाही फिर्ता नहुने’ भन्दै थप कठोर बन्ने संकेत गरेका थिए। ओलीको जवाफपछि निरास भएर फर्किएका भुसालले हालसम्म आफूलाई कुनै समूहमा उभ्याइसकेका छैनन्।

१० बुँदे सहमतिमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल सहमत हुनुपर्नेमा उनको जोड थियो। भुसाल अहिले पनि एकताकै पक्षमा लबिङ गर्ने मनस्थितिमा रहेको बताइन्छ। मंगलवार पनि उनले माधव नेपाललाई भेटेर एकताका लागि ओलीसँग सम्वादमा बस्न आग्रह गरेका थिए।

दोस्रो पुस्ताका नेताहरूको प्रयासका बाबजुद एमाले विभाजित भएपछि एमालेमा ठूलो समूह अन्यौलमा परेको छ। अधिकांश नेता–कार्यकर्ता एकातिर ओलीसँग विचार र कार्यशैली दुवै नमिल्ने अर्कोतिर नयाँ पार्टीभित्र भविष्य नदेख्ने किंकर्तव्यविमुढको अवस्थामा देखिएका छन्। भुसाल पनि त्यसैको शिकार भएको देखिन्छ।

यद्यपि, यसअघि नै भुसालले आफू बृहत कम्युनिस्ट एकताको पक्षमा रहेको बताउँदै आएका छन्। माधव नेपालको एमाले समाजवादीले फेरि वामपन्थी शक्तिबिच एकताको प्रयास थाल्दा भुसाल लगायतका नेताहरू नेपालतिरै फर्किने अनुमान गरिएको छ।