हिजोबाट नयाँ परिस्थिति बनेको छ, सार्थक बहसमार्फत् निष्कर्षमा पुग्छौं : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको पार्टीले वैधानिकता पाउनेबित्तिकै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन्। बिहीबार माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तकको संयुक्त विमोचन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालमा समाजवादी क्रान्तिको तयारीका लागि नयाँ शिराबाट बहसको वातावरण बनेको बताए। ‘‘हामी जडसुत्रवाद र अनुभववादबाट मुक्त हुनैपर्छ। नयाँ परिस्थितिमा समाजवादको आधार तयार पार्न नयाँ बहस जरुरी छ’’ प्रचण्डले भने, ‘‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। हामी यो बहसलाई सकारात्मक दिशा दिन्छौं र टुंगोमा पुग्छौं।’’

प्रचण्डले माधव नेपालको नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद बिस्तार हुने बताए। ‘‘साथीहरूले मन्त्रिपरिषद कहिले बिस्तार हुन्छ भनेर सोध्नुभएको छ। हिजोबाट नयाँ परिस्थिति बनेको छ। बिहान मात्र प्रधानमन्त्रीजी, माधवजी र म बसेका थियौं। माधवजीको पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद बिस्तार हुन्छ’’ प्रचण्डले भने।

बिहीबार दिउँसो समाजवादी केन्द्रले आयोजना गरेको पुस्तक विमोचन र अन्तरक्रिया कार्यक्रममा तीन शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका हुन्। कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले सम्वोधन गरेका छन्।

बुधबार मात्र नेकपा (एमाले) बाट विद्रोह गरी वरिष्ठ नेता नेपालले नयाँ पार्टी दर्ता गराएका छन्। नयाँ पार्टी गठनपछि एक विज्ञप्ति जारी गर्दै नेता नेपालले समाजवादका लागि सिद्धान्तनिष्ठ एकताको आवश्यकतामा जोड दिएका छन्। उनले विज्ञप्तिले आफूहरू फेरि कम्युनिस्ट एकताको पक्षमा उभिने संकेत गरिसकेका छन्।

यता जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजवादका लागि साझा मोर्चा आवश्यक रहेकोमा जोड दिँदै आएका छन्। परिवर्तनकारी शक्तिहरू विभाजित हुँदा दक्षिणपन्थीहरूले फाइदा उठाएको भन्दै भट्टराईले फेरि ध्रुवीकरणको अभियान थाल्नुपर्ने बताउँदै आएका छन्।

एमाले र माओवादी केन्द्रको एकता गरी नेपालमा समाजवादी क्रान्तिको तयारी गर्ने सपना बोकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट र वामपन्थी शक्तिहरूबिच एकता र सहकार्यमा जोड दिँदै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलन विसर्जित हुने खतरा रहेको भन्दै प्रचण्डले त्यस्तो खतरालाई चिर्न पनि एकता अपरिहार्य रहेको बताउँदै आएका छन्।