विधान महाधिवेशनसम्म कुर्ने, नेतृत्व नदिए अलग समूह ?

CPN UML 3rd Team
लोकपाटी न्यूज

काठमाडौं, ३ भदौ। नेकपा एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षधर मानिएका दोस्रो पुस्ताका हस्तीहरू रोक्किए। नेपालले दर्ता गरेको नेकपा एमाले समाजवादीमा उनीहरूको नाम केन्द्रीय कमिटीमा देखिएन। दशकौंयता माधव नेपालसँगै रहेर काम गरेकाहरू पनि पछि हटे।

नेपाल समूहबाट नवौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेर निर्वाचित भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले विभाजनलाई साथ दिएनन्। सचिवमा नेपाल पक्षबाट निर्वाचित गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल पनि एमालेमै रहे।

माधव नेपालसँग लामो सहकार्य गर्दै आएका सुरेन्द्र पाण्डे पनि पछि हटे। नेपाल पक्षबाट महासचिवको उम्मेदवार बनेर ईश्वर पोखरेलसँग झिनो मतान्तरले पराजित पाण्डेले समेत साथ छाडे। आखिर यी हस्तीहरुले किन माधव नेपालको साथ छाडे ?

स्रोतका अनुसार एमालेका दोस्रो पुस्ताका नेताहरूबीच आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भद्र सहमति भएको छ। पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व स्थापित गर्न फरक पक्षका नेताहरू एकजुट हुने सहमति बनेको छ।

भीम रावल र ईश्वर पोखरेलको एक्लाएक्लै भेट भएको थियो। त्यसपछि सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, गोकर्ण बिष्टलगायत नेताहरुको भेटले अबको महाधिवेशनपछि नयाँ नेतृत्व चयन गर्ने गरी अगाडि बढ्ने सहमति गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ नेतृत्व स्थापित गर्न लचकता देखाउने उनी पक्षका नेताहरुको आश्वासनपछि नेताहरु रोक्किए।

माधव नेपालले फरक पार्टी दर्ता गरेपछि एमालेमा विगतमा नेपाल पक्षमा लागेकाहरुलाई उचित स्थान दिने आश्वासनसमेत मिल्यो। अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनिन्। अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन ओली तयार भएका छन्। यसकारण पनि दोस्रो पुस्ताका नेताहरु रोक्किएका छन्।

तर, विधान महाधिवेशनबाट ओलीले जिम्मेवारी छोड्ने कुनै लक्षण देखिएको छैन। एमालेको साविक विधानमा संशोधन गरेर शक्तिशाली अध्यक्षको प्रावधान राखेका ओली सजिलै नेतृत्वबाट हात झिक्ने छैनन्। नेकपा रहँदा अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद त्यागे पार्टी एकता जोगिने परिस्थितिमा समेत लचक बन्न नसकेका ओलीले विधान महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने कुरा कल्पनाबाहिर देखिन्छ।

एमालेको ओली समूहभित्रै ओलीको उत्तराधिकारीमा प्रतिस्पर्धा देखिन्छ। ओलीले उपाध्यक्ष वामदेव गौतमलाई उत्तराधिकारी बनाउन चाहे पनि ईश्वर पोखरेल लगायतका नेताहरूको घेराबन्दीपछि उनी पछि हटेको बताइन्छ। ओलीपछि आफू अध्यक्ष हुने हिसाब गरेर बसेका पोखरेल एमालेमा एकताविरोधी र अनुदारवादी छवि बनाएका छन्।

तत्कालका लागि माधव समूह छोडेका भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरू एमालेभित्रै रहेर ओलीविरुद्ध लड्नेछन्। ओलीले सहमतिमा निर्णय नगरे एकपछि अर्को दवाव सिर्जना गर्ने रणनीतिका साथ उनीहरू तत्काल विभाजनको पक्षमा नउभिएको दावी गरेका छन्।

विधान महाधिवेशनमा ओलीले वाचा पूरा नगर्ने निश्चितजस्तै छ। त्यस्तै अवस्थामा विगतमा नेपालतिर उभिएर पार्टी विभाजनमा मझधारमा बसेका नेताहरूले कस्तो निर्णय लेलान्, कि अलग धारको नेतृत्व गर्दै दोस्रोपटक एमाले विभाजित गराउलान् ? त्यो भने हेर्न बाँकी नै छ।