काठमाडौं/गाउँले शहर घेर्ने रणनीतिमा आधारित जनयुद्ध भर्खरै विकासको चरणमा थियो, महाकाली सन्धिले निम्त्याएको विवादका कारण २०५४ मा नेकपा (एमाले) विभाजित भयो। एमालेका प्रभावशाली नेताहरू सिपी मैनाली, बामदेव गौतमहरू नेकपा (माले) गठन गरेर राष्ट्रियताको मुद्दा मुखरित गर्नतिर लागे। मैनाली र गौतमहरू राष्ट्रियताको मुद्दाका आधारमा शक्तिशाली पार्टीको अभ्यासमा लागे। तर, परिणाम अपेक्षित हुन सकेन, किनकि, राष्ट्रियताको मुद्दा बोक्ने दलको विकल्पका रूपमा माओवादी पार्टी स्थापित भइसकेको थियो।
एमाले विभाजनको असरले माओवादी आन्दोलन एकपछि अर्को शक्तिशाली बन्दै गयो। मैनाली र गौतमहरू राष्ट्रियताको मुद्दामा त फरक ठाउँमा थिए। तर, राजनीतिक कार्यदिशामा नयाँ संश्लेषण गर्न चाहेनन् र सकेनन्। जनताको बहुदलीय जनवादकै कार्यदिशामा माले संगठित गर्न सम्भव थिएन, अन्ततः त्यसको परिणाम २०५६ को निर्वाचनमा मालेले अपेक्षित जीत निकाल्न सकेन। त्यसपछि अवसरवादीहरू एमालेतिरै फर्किने र क्रान्तिकारीहरू माओवादीमा संगठित हुने प्रक्रियाले तीव्रता पायो। त्यसकै परिणामस्वरूप २०५९ मा बामदेव गौतमहरू एमालेमै फर्किए, मैनालीहरू चाहिँ सानो समूहकै रूपमा अलग धाराको नेतृत्व गरिरहे।
महाकाली सन्धिको मुद्दा उठाउँदासमेत मालेले अपेक्षित सफलता प्राप्त गर्न नसक्नुको पछाडि खास कारण के–के थिए ? त्यसबारे आजसम्म उनीहरूभित्रै पर्याप्त बहस र समीक्षा हुन सकेको देखिँदैन। तर, मालेमा राजनीतिक कार्यदिशामा देखिएको यथास्थितिवादी चिन्तन नै असफलताको प्रमुख कारक देखिन्छ। राजनीतिक कार्यदिशामा जनताको बहुदलीय जनवादको विकल्प खोज्न नसक्दा र उनीहरूले उठाएको राष्ट्रियताको मुद्दाको अपनत्व लिने शक्तिका रूपमा माओवादी आन्दोलन स्थापित हुँदै जाँदा माले अलगावमा परेको भन्न सकिन्छ।
अहिले एमाले जुन मुद्दा र परिस्थितिमा विभाजित हुँदैछ, त्यहाँ पनि सम्भावना र चुनौती उस्तै छन्। गत पुस ५ गते नेकपाका अध्यक्ष एवं तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि नेकपा राजनीतिक दृष्टिले विभाजित हुन पुग्यो। उक्त विभाजनमा माओवादी र नेपाल समूह एकै ठाउँमा थियो। फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता नै भंग गरिदिएपछि प्राविधिक दृष्टिले माओवादी र नेपाल समूह अलग रह्यो। तर, वैचारिक दृष्टिले उनीहरू अहिले पनि निकट छन्। विगतमा संश्लेषण गरिएको जनताको जनवादमा अहिले पनि प्रचण्ड–नेपालहरू एकमत देखिन्छन्। भावनात्मक दृष्टिले पनि दुवै नेता र दल निकट देखिन्छन्। कार्यशैलीका दृष्टिले प्रचण्ड र नेपाल दुवै उदार चरित्रका भएकाले पनि त्यस्तो एकताको आधार बनेको धेरैको विश्लेषण छ।
संसदीय राजनीतिमा प्रवेशसँगै एमालेमा अवसरवादी धारा प्रभुत्वशाली बनेको देखिन्छ। जतिबेला माधव नेपाल एमाले अध्यक्ष थिए, त्यतिबेला ओली निवास बालकोट र झलनाथ खनाल निवास डल्लु सुनसान हुन्थ्यो। २०६४ को निर्वाचनमा एमाले पराजित भएसँगै नेपालले नैतिकताका आधारमा राजीनामा दिए र खनाल नेतृत्वमा आए। त्यसपछि शक्तिको केन्द्र कोटेश्वरबाट डल्लुतिर सर्यो, अवसरवादी नेता–कार्यकर्ताको भीड पनि डल्लुतिरै लाग्न थाल्यो।
२०७१ को नवौं महाधिवेशनबाट ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि डल्लु धाउनेहरूको आउजाउ बालकोटतिर हुन थाल्यो। खनाल समूहमा रहेका अवसरवादी नेता–कार्यकर्ता रातारात खाटी ओली समर्थक भएर निस्किए। तिनै अवसरवादी नेता–कार्यकर्ताको बलमा टेकेर ओलीले पार्टीभित्र आफ्नो शक्ति बिस्तार मात्र गरेनन्, राज्यशक्तिको असीमित दोहनसमेत गरे।
अहिले एमालेमा त्यस्तै प्रवृत्ति देखिएको छ। पुस ५ मा ओलीले संसद विघटन गर्दा ‘प्रतिगमन’ भन्दै सडकमा निस्किएका नेताहरू जेठ ७ मा दोस्रोपटक संसद विघटन गर्दा ओलीको समर्थनमा उभिए। रघुवीर महासेठ, शेरबहादुर तामाङ, लालबाबु पण्डित लगायतका नेताहरू खुलेरै संसद विघटनको पक्षमा लागे। वैचारिक दृष्टिले अब्बल मानिएका योगेश भट्टराईहरूसमेत मझधारमा उभिँदै संसद विघटनमा मौनता साँधे। यस्तो अवसरवादी प्रवृत्ति एमालेमा संस्कृतिकै रूपमा संस्थागत हुँदै गइरहेको देखिन्छ।
संसारको जुनसुकै पार्टीमा पनि विभाजनको पक्षमा बहुमत संख्या लागेको देखिँदैन। यद्यपि, विभाजित हुने शक्तिले लिने कार्यदिशा र कार्यनीतिमा नै उसको भविष्य उभिएको देखिन्छ। अहिलेकै स्थितिमा माधव नेपाल समूहको भविष्य पनि उसले लिने राजनीतिक कार्यदिशाले नै निर्धारण गर्नेछ। समाजवादका लागि प्रतिवद्धता व्यक्त गरेका कारण उनीहरूको भविष्य कमजोर हुँदैन भन्न सकिन्छ। तर, जनताको बहुदलीय जनवादलाई आदर्शको रूपमा लिँदासम्म संसदवाद नै प्रभावशाली हुने भएकाले त्यस्तो परिस्थितिमा आफ्नो अलग्गै वैचारिक धरातल स्थापित गर्न चुनौतीपूर्ण हुन सक्छ।
विभाजित नेपाल समूहले तत्कालै अरू वामपन्थी घटकसँग एकता गरिहाल्ने तयारी देखिँदैन। यद्यपि, आसन्न निर्वाचनसम्म नेकपा (माओवादी केन्द्र), नेपाल समूह र जनता समाजवादी पार्टीबिच चुनावी तालमेल हुने निश्चितजस्तै छ। तर, चुनावी तालमेलबाट मात्र पार्टीको अस्तित्व प्रभावकारी नहुन सक्छ। त्यसका लागि नेपाल समूहले आफ्नो शक्ति बिस्तारपश्चात् शीघ्रातीशीघ्र नयाँ वैचारिक संश्लेषण गर्न आवश्यक छ र सोका आधारमा पार्टी एकताको पहल गर्न जरुरी छ।
तत्काल प्राविधिक दृष्टिले ओली समूहमा रहे पनि त्यहा रहेका अधिकांश नेता–कार्यकर्ता बृहत कम्युनिस्ट एकताको पक्षमा देखिन्छन्। भविष्यमा प्रचण्ड–नेपालको पहलमा ओली इतरको कम्युनिस्ट केन्द्रका निम्ति पहल अगाडि बढ्नेछ। त्यस्तो परिस्थितिमा समाजवादी शक्तिहरूको नयाँ ध्रुवीकरणका आधारमा शक्तिशाली पार्टी निर्माण सम्भव हुनेछ।
ओली समूहमा खास वैचारिक निष्ठा नभएकाले वैचारिक शून्यता नेपाल समूहका लागि अवसरका रूपमा उपस्थित छ। ओली समूहका अधिकांश नेता जनतामा आलोचित छन्। ओली सरकारका पछिल्ला गतिविधि र सरकारमा ओली समूहको भूमिकाले समेत उनीहरू जनतामा लोकप्रिय देखिँदैनन्। त्यसको भावनात्मक लाभ नेपाल समूहले लिन सक्छ, किनकि नेपाल समूहका अधिकांश नेता–कार्यकर्ता तुलनात्मक रूपमा निष्कलंकित देखिन्छन्। यो अवसरलाई उनीहरूले कसरी उपयोग गर्नेछन्, त्यो त भविष्यले नै निर्धारण गर्नेछ।



लोकपाटी न्यूज

