काठमाडौं। विपक्षी गठबन्धनबाट मुख्यमन्त्री निर्वाचित हुने सम्भावना नदेखेपछि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक चलाखी गर्न थालेको चर्चा चलेको छ। नेपाल समूहकी प्रतिवद्ध नेतृ शाक्यले ओली समूहको विश्वास जित्दै बागमती प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुने तयारी गरेपछि उनको चलाखीबारे चर्चा हुन थालेको हो।
नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ। त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिन लागेको हो।
माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएको बताएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ। त्यसका लागि आफ्नो गृहकार्य अगाडि बढाएको एमाले स्रोतले बताएको छ।
अहिले हेटौंडामा एमाले संसदीय दलको बैठक शुरु भएकाे बैठकले शाक्यलाई संसदीय दलकाे नेतामा चयन गरेकाे छ। सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्नेछिन्।
स्रोतका अनुसार नेतृ शाक्यले एमाले वरिष्ठ नेता माधवकुमार नेपालकै परामर्शमा मुख्यमन्त्रीको सपथ लिन लागेकी हुन्। एमालेमा केपीको कट्टर आलोचक मानिने शाक्य निष्ठावान् नेतृ मानिन्छिन्। उनले पार्टीभित्र ओलीको स्वेच्छाचारी कदमको निरन्तर आलोचना गर्दै आएकी छिन्।
पछिल्लो समय सार्वजनिक अभिव्यक्ति दिन छोडेकी शाक्यले मुख्यमन्त्री बन्न सकिने सम्भावनाबारे माधव नेपालसँग पटकपटक छलफल गरेको स्रोत बताउँछ। मुख्यमन्त्री बन्ने सम्भावना भए लचिलो बाटो अपनाउन नेपालले समेत ग्रिन सिग्नल दिएपछि शाक्यले मुख्यमन्त्रीका लागि अग्रसरता देखाएकी हुन्।
ओलीले नेपाल समूह फुटाउन जस्तोसुकै हतकण्डा अपनाउन थालेपछि नेपाल समूहले पनि ओली समूहलाई छल्न नयाँ जुक्ति निकालेको हो। स्रोतका अनुसार प्रदेशसभामा ओली समूहको समेत विश्वास जितेर अष्टलक्ष्मी मुख्यमन्त्री निर्वाचित हुनेछिन् र नेपाल समूहमा फर्किनेछिन्।
नेकपा विभाजनपछि सांसद पद गुम्ने डरले ओलीतिर लागेका केही नेताहरूसमेत नेपाल समूहमै फर्किने तयारी गरिरहेको स्रोत बताउँछ। कतिपय नेताहरू भने विभाजनपछिको शक्ति सन्तुलन हेरेर निर्णय गर्ने भन्दै ‘पर्ख र हेर’को अवस्थामा छन्।



लोकपाटी न्यूज

