भण्डारीको भूमिकाले ओली समूह निरास

Bidhya Bhandari-KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। देउवा सरकारले सिफारिस गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्ने विश्वास लिएको ओली समूह निरास देखिएको छ। भण्डारीले बुधबार सरकारले सिफारिस गरेको अध्यादेश स्वीकृत गरेपछि ओली समूह निरास देखिएको हो।

यसअघि ओली समूहका नेताहरूले सरकारले अध्यादेशको सिफारिस गरे पनि राष्ट्रपतिले अध्यादेश रोक्ने विश्वास व्यक्त गरेका थिए। नेकपा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका थिए। मंगलबार उनले प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमालेले विरोध गरेको थियो।

वैशाख २०७७ मा तत्कालीन सरकारले अध्यादेश ल्याउँदा विरोध भएको र राष्ट्रपतिले हतारहतार प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई सहज बनाएको आरोप लागेको स्मरण गर्दै उनले भने, ‘यदि त्यो आलोचना सही हो भने राष्ट्रपतिले पुनर्विचार गर्नुपर्छ।’

उनले अध्यादेशबाट कांग्रेस बोल्नुपर्ने बताएका थिए। दलहरु विभाजन गरेर शासन चलाउँछु भन्ने धुन्धकारी सोच भएको उनले बताएका थिए। तर, ओली समूहको अपेक्षाविपरित राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेपछि उक्त समूहमा सन्नाटा छाएको छ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली रहँदा हरेक कदममा साथ दिँदै आएकी भण्डारी अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा आएपछि एकपछि अर्को अप्ठ्यारोमा पर्दै आएकी छिन्। नयाँ सरकार गठनसँगै भण्डारीमाथि महाअभियोग लाग्नसक्ने आंकलन गरिएका बेला राष्ट्रपति भण्डारी विगतभन्दा केही नरम देखिएकी छिन्।

प्रधानमन्त्री देउवाको सपथ ग्रहण समारोहमा अस्वाभाविक भूमिका देखाएको भन्दै भण्डारीको विरोध भएपछि त्यसयता उनले आफूलाई महाअभियोगको खतरा टार्ने भूमिका खेल्दै आएको कतिपयको विश्लेषण छन्। अध्यादेश प्रमाणिकरण गर्ने बुधबारको निर्णय पनि त्यसैको निरन्तरता रहेको विश्लेषण गरिएको छ।

सरकारले अध्यादेश ल्याए पनि राष्ट्रपति आफूहरूको भएकाले अध्यादेश स्वीकृत नहुने ओली समूहको विश्वासविपरित भण्डारीले हस्ताक्षर गरेसँगै ओली समूह थप रक्षात्मक बनेको हो।