काठमाडौं। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। ४२ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेको हो।
सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका छन्। लुम्बिनीमा विपक्षी गठबन्धनको बहुमत रहेकाले बिहीबार नै नयाँ सरकार बन्ने छ। मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै सोनामले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
गठबन्धनका तीन दलबाट एक/एक जना मन्त्री पठाउने तयारीमा दलहरुले छलफल गरिरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए। गठबन्धनमा रहेको जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताएको छ। लुम्बिनी प्रदेशसभामा जनमोर्चाका १ जना सांसद रहेका छन्। सानो आकारको मन्त्रिपरिषद गठन आजै गर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धनको रणनीति छ।
मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट एक जना, नेपाली कांग्रेसबाट एक जना र जसपाबाट तीन जनालाई समेटेर मन्त्रीहरुको नियुक्ति र सपथ आजै हुने सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले बताए। ‘कम्तीमा ६ जनाको मन्त्रिमण्डल आजै बन्छ,’ उनले भने।
स्रोतका अनुसार माओवादी केन्द्रबाट दाङका दामा शर्मा र इन्द्रजित चौधरीको चर्चा छ। यीबाहेक गुल्मीका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालको सम्भावनासमेत रहेको छ। सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन बिहान ११ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको छ।
नेपाली कांग्रेसबाट पाल्पाका बीरबहादुर राना वा दाङका डिल्लीबहादुर चौधरीमध्ये एकजना मन्त्री बन्ने कांग्रेस संसदीय दलका एक सदस्यले बताए। राना पार्टीमा रामचन्द्र पौडेल पक्षका हुन् भने चौधरी देउवा पक्षका हुन्। जनता समाजवादी पार्टीबाट भने तीनैजना मन्त्री बन्ने निश्चित भएको छ। संसदीय दलका नेता कपिलवस्तुका सहसराम यादवको नेतृत्वमा बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा मन्त्री बन्ने छन्।
तीनजना मध्ये दुई जना विनाविभागीय मन्त्री बन्ने सहमति भएको छ। रायमाझी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्। उनले असार १८ गते राजीनामा दिएर पार्टीमा फर्केपछि सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई बिहीबार ३ बजेभित्र सरकारमा दाबी पेश गर्न भनेका छन्।



लोकपाटी न्यूज
