काठमाडौं। लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन्। उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे।
बैठकमा सत्ता पक्ष अनुपस्थित रहेका छन्। कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ। बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने संकेत गरेको थियो।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए। विशेष अधिवेशनको बैठक सुरु भएको जानकारी गराउँदै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचन र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूलाई टेलिफोन गरेर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी गराएको बताए। तर प्रदेश प्रमुखबाट अधिकारिक पत्र प्राप्त नभएको उनले बताए ।



लोकपाटी न्यूज
