काठमाडौं। सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
अध्यक्ष प्रचण्डले उक्त क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले आफ्नो पार्टीका तर्फबाट पनि बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे।
प्रचण्डले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने बताए।उनले त्यसलाई न्यूनीकरण गर्न सरकारले संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्नेमा जोड दिए।


लोकपाटी न्यूज

