केपी ओली र भीम रावलबीच भेटवार्ता

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन्। आइतबार बिहान अध्यक्ष ओली र रावलबिच भेटवार्ता भएको हो। शनिबार रावलले राष्ट्रपति भण्डारीसँग पनि छलफल गरेका थिए। राष्ट्रपति भण्डारी र रावलबीच दुई घण्टा लामो छलफल भएको बताइएको छ। एमाले विवादमा राष्ट्रपति भण्डारीले पनि चासो लिएको बुझिएको छ।

एमालेको एकता जोगाउनको लागि पछिल्लो समय उपाध्यक्ष डा. भीम बहादुर रावल सक्रिय भएका छन्। रावल वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता हुन्। तर, उनी अहिले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन्। यसअघि माधव नेपाल समूहबाट कार्यदलको संयोजकको भूमिकामा रहेर काम गरेका रावल पछिल्लो समय अध्यक्ष ओलीप्रति एकाएक नरम भएका छन्।

रावल पहिलो प्रतिनिधिसभा विघटनदेखि दोस्रो पटकको संसद् विघटनसम्म उनी ओलीको खरो आलोचनामा उत्रिए। तर, संसद् पूनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएपछि भने रावल ओलीसँग नजिकिएका हुन्। नेपाल समूहका केन्द्रीय सस्यहरुल रावलको भूमिकालाई लिएर आलोचना नै गरेका छन्। उनीहरुले रावलले नेता नेपालको प्रतिनिधि भएर वार्तामा बसेपनि ओलीको पक्षमा काम गरेको आरोप लगाएका थिए। रावल सम्मिलित एमालेको कार्यदलले पार्टी एकताको लागि १० बुँदे प्रतिवेदन समेत तयार पारेको छ।

नेताहरुले एकताको आधार नै उक्त प्रतिवेदन हुने टिप्पणी गरिरहेका छन्। तर, वरिष्ठ नेता नेपाल भने संसद् विघटन गर्नु गल्ती थियो भनेर ओलीले माफी माग्नुपर्ने अडानमा रहेका छन्। त्यस्तै, पार्टीमा सम्माजनक हैसियत पनि नेपाल पक्षको अर्को शर्त छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्